मोरङमा ग्याङ फाइट हुँदा एक जनाको हत्या


मोरङ । मोरङमा युवाहरूबीच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको हत्या भएको हो ।
दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । बढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राती घर गएका थिए । नानु र रिजन साथी हुन् । बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका बुढीगंगा–६ का २३ वर्षीय धने यानकि धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहसँग दाहालको विवाद भएको थियो ।
विवाद बढदै गएपछि उनीहरुले रिजनलाई बुढीगंगा ६ डम्बर बहादुर लिम्बुको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । टाउकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ ।
झगडा छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन् । लिम्बुको दाँया हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ । प्रहरीले बढीगंगा ७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा ४ दव्रेबास घर भइ इटहरी १३ बस्दै आएका २४ वर्षीय कमल थापालाई मोरङ प्रहरी कार्यालयमा ल्याएर घटनाबारेमा अनुसन्धान सुरु गरेको छ ।






















