सर्वोच्च परिसरमा आज पनि बारको आन्दोलन जारी


काठमाडौ । नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ ।
बारले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै लगेको हो । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।
प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलिया सँग साँठगाँठ गरेकालगायतका गम्भीर आरोप लागेका छन् ।
कानुन व्यवसायीहरूले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्नै नदिन मूल गेटमा धर्ना दिएका थिए । तर, जबरा अर्को गेटबाट कार्यालय प्रवेश गरेका थिए । आज पनि कानुन व्यवसायीहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना जारी राखेका छन् ।






















