पोखरामा सीसीटीभी जडान गरी तास खेलिरहेका ६ जना जुवाडे १८ लाखसहित पक्राउ


पोखरा । पोखरामा घर भाडामा लिई सीसीटीभी जडान गरेर तास खेलाउने व्यक्तिसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई १८ लाख ७५ हजार नगदसहित रंगेहात पक्राउ गरेको हो ।
मुस्ताङको थासाङका ३२ वर्षीय नवीन गौचनले तास खेलाउनकै निम्ति पोखरा महानगरपालिका-१२ चापापानीमा एक घर भाडामा लिएका थिए । जुवातास खेलाउन र प्रहरीबाट बच्न उनले उक्त घरमा सीसीटीभी समेत जडान गरेका थिए । यहाँसम्म कि जुवाखालबाटै उक्त सीसीटीभीबाट गेटमा प्रहरी आएको थाहा पाउन सकिन्थ्यो ।
जुवाखालमा नै क्यामेराको दृश्य हेर्न टीभी जडान गरिएको थियो । तर, गोप्य सूचनाको आधारमा शनिबार बिहान कास्की प्रहरीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीको कमाण्डमा गएको प्रहरीले एक बुक तास र १८ लाख ७५ हजार नगद सहित ६ जुवाडेलाई पक्राउ गर्न सफल भएको हो ।
उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको र अवैध जुवातास मुद्धामा थप अनुसन्धान भईरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।






















