देश

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएपछि निषेधाज्ञा जारी

जगत ठाडा मगर
२०७८ कार्तिक २७ | मध्यान्ह ०४:०७ बजे

जनकपुरधाम, २७ कात्तिक । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । जनकपुर उपमहानगरपालिका वडा नम्वर २० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो । त्यसै क्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ ।

स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको बास्तोलाले बताए । ‘उक्त पोखरीमा तीन–चार वर्षदेखि नै समस्या आइरहेको थियो, छठको बेलामा सामान्य झडप पनि भएको थियो,’ बास्तोलाले भने । दुई समुदायबीच तनाव हुन थालेपछि शुक्रबार बास्तोलाले बैठक बोलाएर सहमति गराएका थिए । तर, एकाएक शनिबार हिन्दु समुदायले र्‍याली निकालेर जान खोजेपछि निषेधाज्ञा जारी गर्नु परेको उनले बताए ।

‘झडपमा केही प्रहरी घाइते छन्, स्थिति पूरै नियन्त्रणमा आएको छैन, प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई लखेटिरहेको छ,’ उनले भने।

कमेन्टहरु