अनियमितता र भ्रष्टाचारविरुद्ध सशक्त रूपमा कलम चलाउन पत्रकारहरुलाई अर्थमन्त्री शर्माको आग्रह


पोखरा । अर्थमन्त्री जनार्दन शर्माले अनियमितता र भ्रष्टाचारविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका हुन् ।
‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस् ।’ उनले भने ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ ।’ देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा पनि कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
सरकारले पहिलो पटक अतिविपन्न परिवारहरुलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवसलगायतका लोकहितकारी निर्णय गरेको उनले बताए ।
सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरुमा आम संचार प्रतिष्ठान गठन सम्बन्धी विधेयकहरु पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनु पर्नेमा जोड दिए । मन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृृद्धि गर्न तालिमको आवश्यकता परे सरकारको तर्फबाट गर्न सकिने सहयोग हुने बताए ।






















