देश

प्रधानन्यायाधीशको शीघ्र राजीनामा माग गर्दै शान्ति समाजद्वारा चितवनमा प्रदर्शन

जगत ठाडा मगर
२०७८ कार्तिक २७ | मध्यान्ह ०१:०७ बजे

चितवन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको शीघ्र राजीनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजले चितवनमा प्रदर्शन गरेको छ ।

समाजले आज बिहान चितवनको पुलचोकमा करिब आधा घण्टासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा `न्यायालयलाई प्रदूषित बनाउन पाइदैँन, सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिदैँन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश : शीघ्र राजीनामा देउ, प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ, वर्तमानको आवश्यकता : न्यायालयको शुद्धिकरण´ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

उक्त प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत २३ जिल्लाबाट अधिकारकर्मीहरु सहभागी भएका समाजले जनाएको छ । प्रदर्शनपछि बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा नैतिक रुपमा झनै च्युत भएकाले शीघ्र राजीनामा दिन माग गरेका थिए ।

प्रधानन्यायाधीश जबराको राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको र यस्तो अवस्था उत्पन्न हुनु दुर्भाग्यपूर्ण भएको भन्दै खनालले यो अवस्था लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुने औंल्याए । न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरू अन्त्य गर्न शुद्धीकरणका लागि सबै क्षेत्रबाट व्यापक पहल हुनुपर्ने खनालको भनाइ छ ।

न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरू उत्पन्न हुनुका मुख्य कारण लामो समयदेखि हुँदै आएको अस्वस्थ अभ्यास, तीव्र राजनीतीकरण, विचौलियाको विगविगिदेखि अनेकौं रहेको र यसमा प्रमुख राजनीतिक दलहरू पनि जिम्मेवार रहेका खनालको भनाइ छ ।

कमेन्टहरु