पौडेलले बोलाएको केन्द्रीय सदस्यको बैठकमा प्रकाशमान सिंह अनुपस्थित


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।
बत्तीसपुतलीस्थित एक होटलमा सुरु भएको बैठकमा उनीपक्षीय पूर्वमहामन्त्री प्रकाशमान सिंह अनुपस्थित रहेका छन् । पौडेल पक्षबाट सभापतिमा दावी गरेका सिंह आजको बैठकमा सहभागी नभएको एक नेताले बताए । उनको अनुपस्थितिलाई बैठकमा अर्थपूर्ण रुपले हेरिएको छ । आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाको सन्दर्भमा गुटगत धारणा तय गर्न पौडेलले बैठक बोलाएका थिए ।
पछिल्लो समय प्रभावशाली नेता सिंहले पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पौडेल समूहमा सभापतिमा आकांक्षीमध्येका सिंह महाधिवेशनको मुखमा नयाँ रणनीतिका साथ अघि बढ्न लागेको बताइएको छ । उनी निकट स्रोतका अनुसार सिंह पछिल्लो समय सभापति शेरबहादुर देउवासँग आन्तरिक छलफलमा जुटेका छन् ।






















