खेलकुद

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा प्रवेश

जगत ठाडा मगर
२०७८ कार्तिक २६ | बिहान ०८:०७ बजे

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै टी २० विश्वकप क्रिकेटको फाइनल स्थानमा पुगेको छ । माथियु वाडेले १७ बलमा ४१ रन बनाउँदै अस्ट्रेलियालाई फाइनलको यात्रा गराएका हुन् ।

वाडेले लगातार तीन छक्का प्रहार गरेपछि अन्तिम ओभर बाँकी छँदै अस्ट्रेलियाले खेल आफ्नो पक्षमा पार्‍यो । यसअघि टस हारेर फिल्डिङ गरेको पाकिस्तानले खेल जित्नका लागि १ सय ७७ रनको चुनौती दिएको थियो । पाकिस्तानबाट मोहम्मद रिजवानले ६७, बाबर आजमले ३९ र फकर जमानले अविजित ५५ रन बनाएका थिए ।

अस्ट्रेलियाका मिसेल स्टार्सले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १ विकेट लिए । जवाफी ब्याटिङ थालेको अस्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शुन्यमै गुमाएको थियो । डेभिड वार्नरले ४९ रनको पारी खेले पनि १०.१ ओभरमा सदाब खानको बलमा मोहम्मद रिजवानले उनलाई क्याचआउट गरेका थिए ।

त्यसपछि दबाबमा देखिएको अस्ट्रेलियाले १२.२ ओभरमा आफ्नो ५ विकेट गुमाइसकेको थियो । तर, त्यसयता, मार्कस स्टोनिस र माथियु वाडेले उत्कृष्ट खेल्दै अस्ट्रेलियालाई जित हासिल गराए । स्टोनिसले ३१ बल सामना गर्दै २ चौका र २ छक्कासहित अविजित ४० र वाडेले ४ छक्का र २ चौकासहित अविजित ४१ रन प्रहार गरे ।

पाकिस्तानबाट सदाब खानले ४ र साहिन शाह अफ्रिदीले १ विकेट लिए । फाइनलमा अब अस्ट्रेलिया र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुनेछ ।

कमेन्टहरु