राजधानीमा अनेरास्ववियुले गर्यो प्रधानमन्त्री देउवाको पुत्ला दहन


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
बिहीबार अनेरास्ववियुले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध जनाएको छ । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग समेत गरेको छ ।
विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मुल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । उनले १२ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नगरिएमा सरकारकै बहिर्गमनको निम्ति आन्दोलन गर्ने चेतावनी समेत दिए ।
नेपाल आयल निगमले बुधवार रातिदेखि लागु हुनेगरी डिजेल, पेट्रोल तथा मट्टीतेलमा ३ रुपैयाँ र एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँले वृद्धि गरेको थियो ।






















