देश

सर्वोच्च परिसरमा नाराबाजी ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’

जगत ठाडा मगर
२०७८ कार्तिक २५ | मध्यान्ह १२:०७ बजे

काठमाडौं । कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे ! राजीनामा दे !!’ भन्दै नाराबाजी गर्न थालेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आएको छ भने सर्वोच्चकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुुनुवाइ गरेका छैनन् । बिहीबार सर्वोच्च परिसरमा भेला भएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै सर्वोच्च अदालत बार एशोशिएसनका अध्यक्ष पूर्णमान शाक्यले अहिलेको नेतृत्व परिर्वतन नगरेसम्म न्यायालय सुधार नहुने बताए ।

‘अब उहाँले छोड्नैपर्छ, उहाँले छोडेन भने हामी भौतिक रुपमा गेटमा अवरोध गर्नुपर्ने अवस्था आउँछ । त्यतिबेला हामी जेलनेल खान पनि तयार छौं,’ अध्यक्ष शाक्यले भने । न्यायपालिकालाई बचाउनुपर्ने भन्दै उनले नारा लगाए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे !’ उपस्थित कानुन व्यवसायीहरुले पनि त्यसलाई पछ्याए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’

सर्वोच्च परिसरमा ‘विचौलिया नाइके राजीनामा दे !’ ‘चोलेन्द्रका मतियार, होसियार होसियार !!’, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’ जस्ता नारा लगाएका छन् ।

कमेन्टहरु