वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार, प्रविधि नभएको समयदेखि अहिलेसम्म मुटुरोगीको उपचारमा सक्रिय थिए


मंसिर २,काठमाडौं ।
जनरल मेडिसिनबाट आएर मुटुरोग उपचारमा आधुनिक प्रविधि भित्राउनेमध्येका एक हुन्, प्रा. डा. सुनील झा । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका अनुसार, प्रविधि नभएको समयदेखि अहिलेसम्म मुटुरोगीको उपचारमा सक्रिय थिए उनी ।
प्रा. डा. झाले ३० वर्ष शिक्षण अस्पतालमा काम गरे ।
पछिल्लो समय उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए । कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट ६१ वर्षको उमेर निधन भएका डा. झाले नेपाली चिकित्सा क्षेत्रमा प्रविधि भित्र्याउन गरेको प्रयास विशेष रुपमा स्मरणीय छ ।
प्रा. डा. झासंग लामो सहकार्य गरेका वरिष्ठ मुटुरोग विशेषज्ञ अरुण सायमी उनी पहिलो पुस्ताका नेपाली पेसमेकर एक्सपर्ट रहेको बताउँछन् । उनी भन्छन्, ‘उहाँ प्राध्यापन र चिकित्सा दुबैमा अब्बल हुनुहुन्थ्यो ।’
प्रा. डा. झाले मुटु रोगसम्बन्धी किताबसमेत लेखेका छन् । प्रा. डा. सायमीका अनुसार, उनको स्वाभाव पत्रकार बाबु चन्द्रलाल झासँग मिल्थ्यो । पिता झा नेपाल टाइम्स, द कमनर र जनताका प्रकाशक/सम्पादक थिए । पञ्चायतकालमा उनी पत्रिकाकै कारण १७ पटक पक्राउ परेर साढे सात वर्ष जेल बसेका थिए ।
प्रा. डा. झा पनि इमान–अडानमा बाबुजस्तै दह्रो रहेको डा. सायमी बताउँछन् ।
प्रा. डा. कोइराला, झालाई जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने चिकित्सक मान्छन् । उनका अनुसार, झाले निकै अप्ठ्यारा दिनहरुमा काम गरेर नेपालको उपचार प्रणाली विकासमा महत्वपूर्ण योगदान गरे ।
त्रिवी शिक्षण अस्पतालका प्रा. डा. अभिमन्यु झा उनलाई पद र सुविधाको पछाडि नदौडिने नेपालका एकजना मुर्धन्य मुटुरोग विशेषज्ञको रुपमा सम्झन्छन् । ‘नेपालमा डाक्टर उत्पादनमा पनि उहाँको ठूलो योगदान रह्यो’, प्रा. डा. अभिमन्युले अनलाइनखबरसँग भने, ‘झा सरले पढाएका डाक्टरहरु अहिले देशविदेशमा नाम–दाम कमाइरहेका छन् ।’
कात्तिक दोस्रो साता कोरोना संक्रमण भएका प्रा. डा. झा त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उनमा प्लाज्माथेरापी र रेमडिसिभिर चलाइएको थियो । सोमबार बिहान १० बजे उनको निधन भयो ।
कोरोना संक्रमणबाट वरिष्ठ बाल शल्य चिकित्सक नारायणबहादुर थापाको पनि निधन भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर दुई चिकित्सकको निधनबाट नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको बताएको छ ।
ईशान बाल तथा महिला अस्पतालका अध्यक्षसमेत रहेका डा. थापा नेपालमा बाल शल्यक्रिया शुरु गर्ने चिकित्सकमध्येका एक मानिन्छन् । नेप्लिज एसोसिएसन अफ पेडियाटिक सर्जनको निवर्तमान अध्यक्ष रहेका उनी नेपाल बर्न सोसाइटीलगायतका स्वास्थ्य तथा सामाजिक संघ–संस्थामा आवद्ध थिए ।
बेलायतमा पेडियायाट्रिक सर्जरी पढेर १० वर्ष उतै काम गरेका उनी वीर अस्पतालमा काम गर्न नेपाल फर्किएका थिए । जापान सरकारको सहयोगमा कान्ति बाल अस्पताल सुरु भएपछि उनी त्यहीँ काम गर्न थाले ।
कान्तिमा डा. थापा र डा. केशरबहादुर राजभण्डारीले शल्यक्रिया विभाग सुरु गरेका थिए । यो जोडीलाई नेपालमा पेडियाट्रिक सर्जरीको पायोनियर मानिन्छ । डा. राजभण्डारीको २ वर्षअघि निधन भइसकेको छ ।
२०५१ मा सरकारी सेवाबाट अवकाश पाएका डा. थापाले २०५२ सालमा निजी क्षेत्रबाट पहिलो बाल अस्पताल इसान स्थापना गरेका थिए । १५ बेडबाट सुरु भएको अस्पताल अहिले विशिष्ठ बाल अस्पतालको रुपमा संचालित छ ।
धनकुटामा जन्मिएका डा. थापा भारतको केरलाबाट एमबीबीएस गरेर बेलायतमा पेडियाट्रिक सर्जरी अध्ययन गरेका थिए । ८० वर्षीय थापालाई कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।























