एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने


काठमाडौ । नेकपा एमालेले आगामी मंसिरमा हुने पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निम्ता नगर्ने भएको छ ।
एमाले विभाजन भई नेपालको नेतृत्वमा नया पार्टी नेकपा एकीकृत समाजवादी गठन भएको थियो । एमालेले चितवनमा महाधिवेशन गर्दैछ । उद्घाटन सत्रमा सहभागिताका लागि मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ ।
मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनबारे आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका (आइसिएपीपी) का स्थायी कमिटीका सदस्यहरुलाई पनि निमन्त्रणा गरिएको विभागका प्रमुख योगेश भट्टराईले बताए ।
उक्त सम्मेलनमा पत्रकारले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)लाई महाधिवेशनमा आमन्त्रण गरिने छ कि छैन भनेर राखेको जिज्ञासामा विभाग प्रमुख भट्टराईले भने, ‘पत्राचार गर्ने ठेगाना नभएका, अवैध सम्बन्धबाट बनेका राजनीतिक समूहका व्यक्तिलाई आमन्त्रण गर्दैनौँ । ठेगाना स्पष्ट भएका र राजनीतिक शक्तिका प्रमुखलाई भने बोलाउनेछौँ ।’
मङ्सिर १० गते भरतपुरस्थित नारायणी नदीको मैदानमा जनसमुदायको उपस्थितिमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उद्घाटन स्थलमा अहिले सम्याउने र खाल्डाखुल्डी पुर्नेलगायतका कामहरु भइरहेको छ भने बन्दसत्र सौराहास्थित हात्तीसारमा गर्ने गरी संरचना निर्माण गरिएको छ ।
प्रतिनिधिलाई बसोबासका लागि सौराहास्थित होटलमा व्यवस्था गरिएको छ । सचिव भट्टराईले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।






















