देश

लामो समयसम्म विद्युत आपूर्ति रोकिएपछि कुलमान स्वयं पुगे भरतपुरको सबस्टेसन

जगत ठाडा मगर
२०७८ कार्तिक १७ | मध्यान्ह ०३:०७ बजे

चितवन । चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयं चितवन पुगेका छन् ।

मंगलबार दिउँसोदेखि भरतपुरको अधिकांश क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

विद्युत आपूर्ति सुचारु गराउनका ढिलाइ भएपछि घिसिङ आफैं बुधबार मध्यान्ह भरतपुर पुगेका हुन् । उनले समस्याबारे जानकारी लिएर जतिसक्दो चाँडो विद्युत आपूर्तिको व्यवस्था गर्ने छलफल र पहल गर्ने प्राधिकरणले बताएको छ । ‘तिहारको समयमा उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था आएपछि काम छिटो गर्न प्राविधिकलाई हौसला होस् र परेका समस्याहरु फुकाउन सहज होस् भन्ने उद्देश्यले उहाँ चितवन पुग्नु भएको हो,’ घिसिङको सचिवालयका एक कर्मचारीले भने ।

घिसिङले भरतपुर पुगेलगत्तै समस्या समाधानका लागि सबस्टेसनमै पुगेर छलफलमा जुटेका छन् । तिहारको समय भएकाले विद्युत आपूर्ति घण्टौंसम्म रोकिनु दुःखद् अवस्था भएको र समाधानको लागि विज्ञ प्राविधिक टोलीले काम थालेकाले छिट्टै आपूर्ति सुरु हुने प्राधिकरणले बताएको छ।

कमेन्टहरु