नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको दिन


मंसिर १,काठमाडौँ ।
नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका र मालासहित विभिन्न वस्तु उपहार दिने चलन रहेको छ, यसमा प्राथमिकतामा पर्छ ढाकाको टोपी ।
गलामा सयपत्री, गोदावरी वा मखमलीको माला र निधारमा सप्तरंगी टिका लगाइदिएपछि चेलीले माइतीलाई ढाकाको टोपीले सजाइदिने गर्दछन् । सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै दिदीबहिनीले दाजुभाइलाई यसरी ढाकाटोपी लगाइदिँदा दुई पक्षबीच स्नेह झन् बढेको विश्वास गरिन्छ ।
ढाकाटोपी केही दशकयता नेपाली संस्कृतिको एक अंग बनिसकेको छ । योविनाको धार्मिक तथा साँस्कृतिक कार्यक्रम खल्लो मानिन्छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाएको ढाकाटोपी चेलीले माइतीलाई गरेको सम्मान भएको संस्कृतिविद्को भनाइ छ ।
संस्कृतिविद्ले भनेजस्तै अरुवेला टोपी नलगाउने दाजुभाइ भाइटीकाका दिन दिदीबहिनीको हातबाट स्नेहपूर्वक ढाकाटोपी लगाउने गर्छन् । यसले नेपाली र यहाँ साँस्कृतिक पहिचान विश्वमाझ पुर्याउन सहयोग गरेको पनि विश्वास गरिन्छ ।
ढाका टोपीलाई नेपालीको कला धर्म, संस्कृतिसित पनि जोडिएको पाइन्छ ।
धार्मिक कार्यको दौरान निदार तथा शिर खाली राख्नु हुन्न भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्य पश्चात्त ढाका टोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटिकाको दिन हरेक दिदीबहिनीले दाजुभाईलाई ढाका टोपी लगाइदिने चलन रहेको बुझिदै आएको छ ।






















