देश

होचा कदका डोरबहादुर खपांगीले नागरिकता पाए

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | बिहान ०८:०७ बजे

सिन्धुली । होचा कदका डोरबहादुर खपांगीले नागरिकता पाएका छन्। गोलन्जोर गाउँपालिका–४ का १७ वर्षीया खपांगीले बुधबार प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता पाएका हुन्।

शारीरिक रूपमा अशक्त खपांगीलाई वंशजका आधारमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। ‘उनलाई वंशजका आधारमा नेपाली नागरिकता उपलब्ध गराइदिन भनि वडाबाट भएको सिफारिस र चिकित्सक टोलीबाट स्वास्थ्य परीक्षणसमेत गराई नेपाली नागरिकताको प्रमाण–पत्र उपलब्ध गराइएको हो,’ न्यौपानेले भने।

प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार खपांगी सिन्धुलीकै सम्भवतः होचा कदका नागरिक हुन्। उनी हाल १७ वर्षका भए। उनको उचाइ ७१ सेन्टिमिटर मात्र छ। आफ्ना दाजुका साथमा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आइपुगेका खपांगीले नागरिकताको प्रमाण–पत्र पाएपछि खुसी व्यक्त गरेका छन्।

सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले पढाइलेखाइ भने गरेका छैनन्। खपांगी ३ दिनअघि नागरिकता बनाउन जिल्ला सदरमुकाम आएका थिए। तर, जिल्लामा उमेर पत्ता लगाउन सहयोग गर्ने स्वास्थ्य परीक्षणको मेसिन नहुँदा र चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गरी प्रमाणित नहुँदा ३ दिन ढिला नागरिकता पाए।’

कमेन्टहरु