पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान


भैरहवा । पाल्पाकी एक महिलाले एकै पटक चारवटा छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो ४ वटा छोरीलाई जन्म दिएकी हुन्।
अस्पतालका अनुसार चार वटा शिशुमध्ये एक किलो ६० ग्राम, एक किलो एकसय ग्राम, एक किलो एक सय ३० ग्राम र एक किलो एक सय १५ ग्राममात्र तौल रहेको छ। सामान्यत: साढे दुई किलोको शिशुलाई सामान्य मानिने गरेकोमा सीताले जन्म दिएका चार वटै शिशु स्वस्थ रहे पनि तौल अत्यन्त कम रहेकोले एनआईसियूमा राखी उपचार गरिएको गुरुङले बताए। विवाह भएको सात वर्षमा पहिलो पटक सीता गर्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। पाल्पामा जुत्ता पसलमा कालिगढको काम गर्दै आएका सन्तोषले श्रीमती गर्भवती भएपछि तानसेनस्थित मिसन अस्पतालमा परीक्षणको लागि नियमित लगिरहन्थे।
पेटमा ४ वटा शिशु हुर्किइरहँदा पनि सीतालाई ६ महिनासम्म कुनै अप्ठेरो महशुस भएको थिएन। गर्भ ६ महिनाको पुग्दा पेट दुख्न थालेपछि उनीहरूले भिडिओ एक्सरे गराउँदा चिकित्सकले पेटमा ३ वटा शिशु रहेको जानकारी दिएका थिए। तानसेनमा एक महिनाको अन्तरमा दुई पटक र कार्तिक ६ गते भैरहवा मेडिकल कलेजमा पनि एक पटक भिडिओ एक्सरे गर्दा तीन वटा बच्चा देखिए पनि मंगलबार अप्रेशन गरेपछि मात्रै चार वटा बच्चा भएको थाहा भएको हो।
गर्भवती भएको सात महिनामै चार वटा शिशु जन्मिएकोले कम तौलका शिशुहरू जन्मिएको भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। आमाको सफल शल्यक्रिया गरिएको भए पनि सबै शिशुको तौल एक किलोभन्दा अलिकतिमात्र बढी भएकाले सबैको एनआइसियूमा उपचार भइरहेको गुरुङले जानकारी दिए। ‘शल्यक्रिया गर्ने डाक्टर तारा केसीका अनुसार सबै बच्चाहरू स्वस्थ त छन्, तर पनि तौल कम भएकाले बाहिरी वातावरणमा घुलमिल हुँदा संक्रमण नहोस् भनेर एनआइसियूमा राखिएको हो।






















