राजनीति

एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य

जगत ठाडा मगर
२०७८ कार्तिक ११ | बिहान ०७:०७ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशभरका सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरी पार्टी एक भएको र निर्वाचन केन्द्रित अभियानको संकेत दिएको छ ।

स्थानीय निर्वाचनमा उम्मेदवार छनोटमा विवाद भए परिणाम राम्रो आउन नसक्ने भएकाले एमालेले अहिलेदेखि नै पार्टी कमिटीलाई एकजुट र मजबुत बनाएर निर्वाचनमा होमिने तयारीस्वरुप वडासँगै पालिका तहको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेको हो।

एमालेको दसौँ महाधिवेशनमा सकेसम्म पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारी छ। वडा र पालिका अधिवेशनदेखि नै सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाएर केन्द्रीय महाधिवेशनबाट पनि सर्वसम्मत पदाधिकारी चयन गरी पार्टी एक भएको सन्देश दिन चाहन्छ एमाले। पार्टीका सबै कमिटीमा सर्वसम्मत नेतृत्व छान्ने र स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा पनि यही अभ्यास गर्ने योजना उसको छ।

‘पार्टी विभाजन भएको अवस्था छ । अहिले पनि पार्टीभित्र गुटबन्दी छ भन्ने बुझाइ छ । तर, त्यस्तो होइन भन्न सबै तहको नेतृत्व सर्वसम्मत होस् भन्ने केन्द्रीय नेतृत्वको चाहना छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने । ती सदस्यका अनुसार पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा पर्न नदिन र पार्टीमा गुटबन्दी छैन भन्न पनि पालिका तहमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिइएको हो ।

‘लोकतन्त्रमा सबैभन्दा उत्तम विधि सर्वसम्मत हो, सर्वसम्मत नभए निर्वाचनबाट नेतृत्व छान्ने प्रक्रिया त हुन्छ’, एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने । सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले गाउँपालिका र नगरपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न मातहत कमिटीहरूलाई निर्देशन दिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

कमेन्टहरु