बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु


राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलन चोकमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ का ४० वर्षीय प्रमोद मण्डल रहेको प्रहरीले जनाएको छ । ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज दिउँसो मृत्यु भएको हो।
आफ्नो घरबाट सप्तरीको वीरेन्द्र बजारदेखि उत्तर चुरेजङ्गलमा अवस्थित शनि मन्दिरमा आज बिहान पूजा गर्न जाने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय अमरनाथ यादवको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स २ प ३३३३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ५ ख ९००० नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । बस चालक चितवन माडी नगरपालिकाका ३७ वर्षीय सुरेस रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।






















