दक्षिण अफ्रिकामा घरभित्रै चल्यो गोली, ११ जनाको मृत्यु


काठमाडौँ। दक्षिण अफ्रिकाको डरबननजिकै एउटा घरमा पाटी चलिरहेका बेला गोली चल्दा ११ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार राति डरबन सहरबाट करिब ३० किलोमिटर दक्षिणमा रहेको क्वामाखुथा टाउनसिपमा तीन जना बन्दुकधारी घरभित्र प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए।
गोली प्रहारको कारण खुल्न सकेको छैन । यद्यपि घटनामा संलग्न समूहबिचको द्वन्द्व वा आपराधिक समूहबिचको विवाद हुन सक्ने आकलन छ । प्रहरीले उक्त घरमा भेला भएका केही व्यक्ति आपराधिक गतिविधिमा जोडिएको पनि जनाएको छ।
दक्षिण अफ्रिकामा पछिल्ला वर्षहरूमा यस्ता सामूहिक गोलीकाण्डका घटना बढेका छन्। गत जुनमा जोहानेसबर्गको एक गरिब बस्तीमा पनि बन्दुकधारीहरूले गोली चलाउँदा १२ जनाको मृत्यु भएको थियो।
दक्षिण अफ्रिका विश्वमै उच्च हत्या दर भएका मुलुकमध्ये पर्छ । प्रहरीको तथ्यांकअनुसार यहाँ दैनिक औसत करिब ६० जनाको हत्या हुने गरेको छ।






















