नश्ल सुधारका लागि सुनवल नगरपालिकाले अस्ष्ट्रेलियाबाट ल्याएको बोका काटेर दशैं मनायाे


सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ मा नश्ल सुधारको लागि अष्ट्रेलियाबाट ल्याईएको बोयर जातको बोका काटेर दशैं मनाईएको छ । सुनजवल नगरपालिकाले करिव तीन लाख खर्चिएर ल्याएको उक्त बोका र पालक किसान गंगाराम गैरेले अष्टमीको दिन काटेका हुन् ।
स्रोतले सेतोमसीलाई दिएको जानकारीलाई थप पुष्टि गर्न कृषक गैरेलाई घटनाबारे सोध्दा उनले बोका काटेर मासु बेचेको स्वीकार गरे । नगर प्रमुख भिम बहादुर थापा (भरत) नगर पशुशाखा प्रमुख मिश्री प्रसाद खड्का र वडा अध्यक्ष कृष्ण प्रसाद देवकोटाको सहमतिमा बोका काटिएको गैरेले बताए ।
“बोका विरामी थियो राम्रोसंग काम पनि गरेको थिएन । त्यसैले वडाध्यक्षले काटेर मासु खाने भन्नू भयो अनि काटियो” – सेतोमसीसंग कृषक गरैले भने । बोका विरामी भएकोले काटिएको र त्यसको सट्टामा अर्को बोका तयार गरिएको उनको जिकिर छ । “त्यही बोकाको बीउ, अर्को बोका म संग छ अब त्यही बोका प्रयोग गर्ने कुरा भएको छ” – उनले भने ।
तीन लाखको शुद्ध बोयर जातको बोका काटेर खाने अनि लोकल जातको बोका देखाउने यस्तो कसरी हुन्छ भन्ने हाम्रो प्रश्नमा कृषक गैरेले लोकल भएपनि आफुसंग भएको बोका ‘तगडा’ भएको दावी गरे ।
यसै विषयमा कुरा गर्दा उक्त बोकाको मासु खानेमध्यका एक खडानन्द कोइरालाले ९ सय रुपैयाँ किलोका दरले आफुले पनि मासु किनेको बताए । “सुरुमा त मलाई थाहा भएन, पछि नगरपालिकाले अनुदानमा दिएको बोकाको मासु रैछ भन्ने थाहा पाएपछि मैलेपनि यसबारे सोधिखोजी गरें” उनले भने ।






















