पाँच प्रदेश : कपिलवस्तुमा झाडापखाला स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन


कपिलवस्तु । कृष्णनगर नगरपालिकाका विभिन्न ६ वडामा झाडापखाला तथा बान्ताको प्रकोप फैलिएको छ। असोज १८ बेलुकीदेखि नगरपालिकाका वडा नं ३, ४, ७, ८, ९ र १२ झाडापखाला तथा बान्ताबाट प्रभावित भएको हो।
नेपाली सेना, नेपाल पुलिस तथा शशस्त्र प्रहरी बलका प्रतिनिधि, स्थानीय लगायत प्रादेशिक, जिल्ला तथा स्वास्थ्य कार्यालय तथा अन्य सरोकारवालाले प्रकोप नियन्त्रण गर्न सहयोग तथा समन्वय गरिरहेका छन्। स्थितिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न थप आवश्यक औषधी तथा जनशक्तिसमेत परिचालन भइरहेको छ ।स्वास्थ मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलद्वारा उपलब्ध जानकारी अनुसार बिहान ९ बजेसम्ममा ३७० जना बिरामीलाई अस्पताल भर्ना गरिएको थियो।
भर्ना हुनेमध्ये २२८ जना अस्पताल तथा स्वास्थ्य संस्थाबाट डिस्चार्ज भइसकेका, ११० जना उपचाररत र ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ। रोगको यकिन जानकारीको लागि ५ बिरामीको दिशाको नमुना प्रयोगशाला परीक्षण भइरहेको र नतिजा आउन बाँकी छ।
यसको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धान गर्न इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आवश्यक औषधि तथा सामग्री लिएर चिकित्षक सहितको टोलीका साथै विश्व स्वास्थ्य संगठन, नेपालका तर्फबाट पनि प्रभावित स्थलमा बिहीबार बिहादेखि परिचालित भएका छन्।






















