देश

६६ औं प्रहरी दिवसमा बाँकेका २६ जना उत्कृष्ट प्रहरी पुरस्कृत

जगत ठाडा मगर
२०७८ अशोज २० | मध्यान्ह ०१:०६ बजे

बाँके । ६६ औं प्रहरी दिवसका अवसरमा बाँकेका २६ जना उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरेवापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो ।

उनीहरुलाई पुरस्कार स्वरुप नगद र प्रमाणपत्र प्रदान गरिएको जिप्रका बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । उनले भने, ‘इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी साब’ सहित २६ जना प्रहरी कर्मचारी पुरस्कृत हुनु भयो, उहाँहरु सबैलाई नगद र प्रमाणपत्र प्रदान गरियो ।’

सो दिवसका अवसरमा प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने नागरिक समाज, सामाजिक संस्थाका प्रतिनिधी लगायतलाई पनि सम्मान गरिएको छ । यस्तै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरियो । दिवसको पुर्वसन्ध्यामा आयोजित खेलकुद प्रतियोगितामा विभिन्न स्थान प्राप्त गरेका प्रहरी खेलाडीलाई पनि सोही समारोहमा पुरस्कृत गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाल, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क, नेपाली सेना राँझा ब्यारेकका प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जका अध्यक्ष दीपेन्द्रकुमार जोशी, हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी लगायतको सहभागिता रहेको थियो ।

कमेन्टहरु