देश

स्रोत नखुलेको ११ लाख भारतीय नोटसहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ अशोज २० | बिहान ०८:०६ बजे

काठमाडौं । स्रोत नखुलेको भारतीय नोटसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका फिक्कलका ३५ वर्षीय अनुप अग्रवाललाई ११ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।

अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ । विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाखसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अग्रवाललाई प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको र थप अनुसन्धानका लागि इटहरी लगिएको छ ।

सो रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरेको बुझिएको छ । झापातर्फ जाँदै गरेको मे१च ६४२४ नं को कारबाट गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको हो । अग्रवालले विगतदेखि नै फिक्कलमा बसेर भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीले गरेको छ । सटही काउन्टरसमेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएको बुझिएको छ ।

स्रोत नखुलेको पैसासहित पक्राउ गरिएपछि थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताउनुभयो । भारतसँग सीमा जोडिएको पशुपतिनगर नजिकै रहेकाले पनि यस क्षेत्रमा सामान्य भारुको कारोबार भने हुने गरेको पाइन्छ ।

स्थानीयवासीले दैनिक उपभोग्य वस्तुको खरिदका लागि समेत भारत जाने र भारतीय व्यापारीले पनि कृषि उपज खरिद गर्ने भएकाले इलाममा भारतीय नोटको सामान्य कारोबार हुने गरिन्छ । तर, स्रोत नखुलेको १० लाखभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

कमेन्टहरु