राजनीति

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्री देउवालाई आफ्नै पार्टीबाट दबाब

जगत ठाडा मगर
२०७८ अशोज १९ | बिहान ०९:०६ बजे

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन् ।

पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सोमबार भएको भेटवार्तामा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकालेका हुन् । निधि निवास बानेश्वरमा भएको तीन नेताहरूको छलफलले प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेरै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिने निष्कर्ष पनि निकालेका छन् ।

प्रधानमन्त्री भएको यतिका दिन भइसक्दा नि मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन नसकेको र त्यसले गर्दा विभिन्न आशंका उब्जन थालेको उनीहरूको बुझाइ छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन तत्काल सक्रियता देखाउनुपर्ने भन्दै उपसभापति निधिले यसले गठबन्धन र कांग्रेसलाई मात्र होइन, सिंगो मुलुकलाई नोक्सान हुने बताए ।

सरकारले अहिलेसम्म पूर्णता नपाउदा निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा समेत असर पर्ने भन्दै अबको चुनावमा गठबन्धनका योगदान र योग्यतामा प्रश्न उठ्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने उनीहरूको निष्कर्ष छ ।

कमेन्टहरु