देश

नवलपुरमा ईन्टरनेट सेवाप्रदायकले ४ बर्ष देखि तिरेनन पोलभाडा

जगत ठाडा मगर
२०७८ अशोज १७ | मध्यान्ह १२:०६ बजे

कावासोती । नवलपुरमा रहेका ईन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणको पोलमा आफ्नो तार टाँगेर सेवा विस्तार गरेवापत तिर्नुपर्ने पोलभाडा उनिहरुले ४ बर्ष सम्म पनि नबुझाएका हुन् ।

नेपाल बिद्युत प्राधिकरण कावासोतीका प्रमुख अमित कुमार कर्णले २०७४ सालमा नयाँ दररेट कायम भएपछि कुनै पनि कम्पनीले प्रधिकरणलाई पोलभाडा नबुझाएको जानकारी दिए । पोल भाडा बुझाउन आउन पटक पटक पत्रचार गरेपनि ईन्टरनेट सेवा प्रदायक सस्थाहरुले बुझाएका छैन ।

कर्णका अनुसार कतिपय सेवा प्रदायक सस्थाहरुले चिठी बुझ्न समेत नमानेको कर्णले बताए । पटक पटक पत्रचार भयो, कयौं पटक ताकेता गर्यौं, तर पनि उहाँहरुले ४ बर्ष देखि एक रुपैया पनि बुझाउनु भएको छैन । उहाँहरुलाई आफ्नो डाटा बुझाउन भनेपनि डाटा समेत बुझाएका छैन । उनले फेरी एक पटक सबै सेवा प्रदायकलाई पत्रचार गरेर बोलाउने र भाडा तिर्न अनुरोध गर्ने बताए । उनले राज्यको कानुन सबैले मान्नु पर्ने भन्दै कानुन उलंघन गर्नेलाई कारवाही हुने बताए ।

उता नवलपुर जिल्लामानै दर्ता दर्ता रहेको ईन्टरनेट सेवा प्रदायक कम्पनी कस्मिक नेट प्रा.लिका प्रवन्ध निर्देशक केशब प्रसाद भट्टराईले प्राधिकरणले अनाबश्यक रुपमा धेरै भाडा लिएकाले पोल भाडा तिर्न नसकिएको बताए । उनले जनतालाई मार पर्ने हिसावले पोल भाडामा बृद्धी गरेकाले नयाँदररेट कायम भएपछि भाडा नबुझाएको स्विकार गरे ।

प्राधिकरणले २०७४ साल अघि प्रति पोल नगरपालिमा १ सय ५० र गाउँपालिकामा प्रति पोल १ सय भाडा लिँदै आएको थियो । २०७४ सालमा नयाँ दररेट कायम भएपछि प्राधिकरणले प्रति किलोमिटर १२ हजार भाडा तोकेपनि कसैले पनि सो भाडा बुझाएका छैनन् । टेलिकम र एनसेल बाहेक नवलपुर जिल्लामा १३ वटा कम्पनीले ईन्टरसेवा प्रदान गर्दै आएका छन् । ति मध्य २ वटा कम्पनी नवलपुरमा नै दर्ता भएर संचालित छन् ।

नेपाल बिद्युत प्राधिकरणले पोल भाडा नबुझाएपछि चितवनको भरतपुर सहित देशका मुख्य शहरहरुमा ईन्टरनेटको तार काटिदिएको छ । तार काटिएपछि व्यवसायीहरु अहिले आन्दोलित छन् ।

कमेन्टहरु