३८ क्विन्टल सुन तस्करी मुद्दा : सरकारी वकिलको बहस सकियो, प्रतिरक्षा बहस सुरु


विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्विन्टल सुन तस्करी सम्बन्धी मुद्दामा सरकार पक्षका कानुन व्यवसायीको बहस सकिएको छ।
जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा अन्तिम सुनुवाइ जारी रहेको मुद्दामा सोमबार सरकारी वकिलका तर्फबाट बहस सकिएको हो। फैसलाको चरणमा रहेको मुद्दाको अन्तिम सुनुवाइ आइतबारबाट सुरु भएको थियो। सरकारी वकिललाई बहसका लागि आइतबार र सोमबार गरेर दुई दिनको समय दिइएको थियो।
मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले बहस गरे। भुसालको बहस अपराधिक समूह स्थापना र सञ्चालन (संगठित अपराध)का विषयमा केन्द्रित रहयो। काफ्लेले अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान एवं पोखरेलले अवैध सुन चोरी निकासी र पैठारीका विषयमा केन्द्रित रहेर बहस गरे।
बहसका क्रममा सरकार पक्षका कानुन व्यवसायीले प्रतिवादीलाई बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेका छन्। सुन तस्करी एवं सनम हत्या प्रकरणमा प्रतिवादीहरुको संलग्नता पुष्टि भएको उनीहरुको दाबी छ।
मुद्दामा उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी छन्। जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो। मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ।
सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेपछि त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको हो। सुरुमा मुद्दा दर्ता गर्दा ६३ जना मात्रै प्रतिवादी थिए। तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन्। प्रतिवादीमध्ये ५५ जना पक्राउ परे। २२ जना अझैसम्म फरार छन्।
मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको हो। मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायतका प्रतिवादी छन्।
यसैबीच सरकार पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सोमबारबाटै प्रतिवादीतर्फका कानुन व्यवसायीको पनि बहस सुरु भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए। उनका अनुसार प्रतिवादीको पक्षमा हुने प्रतिरक्षा बहस सकिएपछि अदालतले मुद्दाको फैसला गर्ने छ। प्रतिवादीका पक्षमा बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको धमलाले बताए।
सोमबार एक जना प्रतिवादीको पक्षमा बहस भएको छ। प्रतिवादीमध्येका पूर्वडीआईजी निरौलाको पक्षमा कानुन व्यवसायी भानुभक्त निरौलाले प्रतिरक्षा बहस गरेका हुन्। उनले सुन तस्करी र सनम हत्यामा संलग्नता नरहेको जिकिर गर्दै पूर्वडीआईजी निरौलालाई मुद्दामा सफाइ दिनुपर्ने दाबी प्रस्तुत गरेका छन्। निरौलामाथि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करीमा सहयोग गरेको आरोप छ।
विराटनगरमा सनमको शव बरामद गर्दा पक्राउ परेका मोहन काफ्लेको घरबाट फेला पारिएको सुन तस्करीको हिसाबकिताब राखिँदै आएको डायरीमा ‘डीआईजी मामा’ उल्लेख छ। डीआईजी मामा भनिने व्यक्ति पूर्वडीआईजी निरौला भएको अनुसन्धानबाट खुलेको थियो। यो मुद्दामा अहिलेसम्म थुनामै रहेका एसएसपी खत्रीका सवारी चालक विष्णुबहादुर खड्काले पनि ‘डीआईजी मामा’ भनिने व्यक्ति निरौला नै भएको बयान दिएका छन्। पूर्वडीआईजी निरौला भने यसअघि नै उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।
तस्करी गरेर दुवईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदै २०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो। त्यही हत्याको अनुसन्धान थाल्दा विदेशबाट नेपालतिर हुने सुन तस्करीको बारेमा पत्ता लागेको हो।
शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई सुरुमा पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको थियो। गोरे भने फरार थिए। पछि पक्राउ गरेर बुझाएपछि अदालतले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो।
मुद्दा चलाइएका प्रहरी अधिकारीमध्ये खत्री र राउत अहिलेसम्म थुनामै छन्। अरु प्रहरी अधिकारी उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्। सरकारले यस घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति नै गठन गरेको थियो। समितिले गरेको छानबिन र प्रहरीको अनुसन्धानमा गोरे मुख्य नाइके रहेर व्यापारीको लगानीमा दुवईबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करीको सुन नेपाल भित्रने गरेको पत्ता लागेको हो। अन्नपूर्ण पोष्ट्बाट






















