कांग्रेस अधिबेशन : ओखलढुंगाका आठवटै पालिकामा देउवा पक्षको नेतृत्व


ओखलढुंगा । ओखलढुंगाका आठवटै स्थानीय तहमा कांग्रेसको संस्थापन पक्षले नेतृत्व पाएको छ । पार्टीको पालिका अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा शेरबहादुर देउवा पक्षले नेतृत्व पाएको हो । वडा अधिवेशनमा ७५ मध्ये १ बाहेक सबै वडामा सहमति गरेको कांग्रेसले पालिका अधिवेशनमा ८ मध्ये ५ स्थानीय तहमा सहमति गरेको छ ।
सहमति भएका सबै स्थानमा संस्थापन पक्षका नेतालाई नेतृत्व दिइएको छ । निर्वाचन भएका ३ स्थानीय तहमा पनि संस्थापन पक्षकै नेताहरू निर्वाचित भएका छन् ।
ओखलढुंगा कांग्रेसको नगर तथा गाउँ अधिवेशनबाट खिजिदेम्बामा रामकुमार सुनुवार, लिखुमा कुमार सुवेदी, चम्पादेवीमा विष्णु पुलामी, मानेभञ्ज्याङमा देव पुलामी र सुनकोसीमा विष्णु खड्का सर्वसम्मत सहमतिमा निर्वाचित भएका छन् । सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिकामा चुनाव भएको थियो । सो चुनावबाट सिद्धिचरणमा प्रेमराज गुरुङ, चिशंखुगढी गाउँपालिकामा गोपालमान थापा र मोलुङ गाउँपालिकामा गोपीकृष्ण कार्की विजयी भएका छन् ।
पार्टी सभापति प्रदीपकुमार सुनुवार, संविधानसभाका सदस्य तथा पूर्वसांसद रामहरि खतिवडासहित कांग्रेसका प्रभावशाली नेताहरू संस्थापन पक्षमा रहेकाले पालिकाको नेतृत्वमा सोही समूह हाबी भएको छ । पालिका तथा नगर अधिवेशनपछि संस्थापनइतर रामचन्द्र पौडेल पक्षका नेताहरूले जिल्लामा पार्टीले पेलेर जान खोजेको आरोप लगाएको छ ।
संस्थापन पक्षका नेताहरू भने एकताको सन्देशसहित वडा र पालिका अधिवेशन सकिएको बताउँछन् ।ओखलढुंगामा खटिएका मुख्य निर्वाचन अधिकृत कृतिनाथ शर्माले कांग्रेसको गढ मानिने जिल्लामा दीर्घकालीन महत्व राख्ने गरी सहमति र चुनाव निष्पक्ष गराएको बताए । एकाकार संगठन बनेको बताउँदै शर्माले जिल्ला अधिवेशन सोहीअनुसार हुने र आगामी निर्वाचनहरूमा ओखलढुंगामा घातअन्तरघातको अवस्था नआउने बताए ।
जिल्ला अधिवेशनमा देउवा पक्षबाट तेजेन्द्र खनाल र रामचन्द्र पौडेल पक्षबाट बालकृष्ण दाहालले सभापतिमा उठ्ने तयारी गरेका छन् ।






















