देश

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि बिराटनगर अदालतमा हुदै

जगत ठाडा मगर
२०७८ अशोज १० | बिहान १०:०६ बजे

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ ।

जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा शाक्यको मृत्यु भएको थियो ।

हत्या अनुसन्धानका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेको थियो । करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने छ ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो । दुईपटक पुरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ ।मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

सुन तस्करी मुद्दाका ७७ प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका थिए ।

कमेन्टहरु