इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट भागेका थुनुवा पक्राउ
टोप कामु मगर
२०७८ अशोज ९ | मध्यान्ह ०४:०६ बजे

सिरहा, ०९ असाेज । इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षबाट भागेका युवक पक्राउ परेका छन् । गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका नवराजपुर गाउँपालिका वडा नम्वर १ का ३४ बर्षीय रामप्रकाश भनिने पशुपति यादवलाई शनिबार पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।
लागूऔषध मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरी हिरासतमा राखिएका यादव हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी फरार भएका थिए ।उनलाई सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका १ मौवाहीको लच्कापुलबाट पक्राउ गरिएको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।






















