नारायणगढ-बुटवल सडक विस्तारः साना पुल भत्काएर फराकिलो बनाइँदै


पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल पूर्वका २० मिटर भन्दा साना पुलहरु भत्काइने भएको छ । पुल भत्काइने भएपछि सवारी साधन ओहोर दोहोर गराउन नजिकै ह्युमपाइप राखेर अस्थायी डाइभर्सन बनाइएको छ । नारायणगढ बुटवल सडक विस्तार आयोजना अन्तर्गत नयाँ पुल निर्माणका लागि पुराना पुल भत्काउन लागिएको हो । राजमार्गलाई ४ लेन र ६ लेनमा विस्तार गर्ने पक्रिया अघि बढेको छ । साना पुलहरुलाई भत्काएर ४ लेनको लागि नयाँ पुल बनाइने छ ।
नारायणगढ बुटवल सडक योजना अन्तर्गतक बुटवल–दाउन्ने खण्डमा मात्र २२ वटा साना पुल र अन्य कल्भर्टहरु भत्काएर नयाँ बनाइने सडक योजनाका इन्जिनियर युवराज पाण्डेले बताउनुभयो । ‘२० मिटर भन्दा कमका सबै पुलहरु भत्काएर ४ लेन सडकसँग मिलाउन दुइ–दुइ लेनको दुइ वटा पुल बनाइन्छ’–उहाँले भन्नुभयो–‘त्यस्तै २ सय ४७ कल्भर्टहरुलाई ४ लेनको बनाउने काम पनि सुरु गरिसकेका छौं ।’
साना पुल र कल्भर्टहरु भत्काएपछि तत्कालको लागि नजिकै डाइभर्सन बनाएर गाडी ओहोर दोहोर गराइन्छ । त्यसै गरी २० मिटर भन्दा लामा राजमार्गका मुख्य पुललाई भने यथावत राखिने आयोजना इन्जिनियर पाण्डेले बताउनुभयो ।























