सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र उत्तर कोरियाली राजदूत बीच शिष्टाचार भेट


काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यान Jo Yong Man बीच शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले राजदूत जो योङ म्यान Jo Yong Man लाई उत्तर कोरियाले covid-19 नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै बाँकी विश्वसामु उदाहरणीय कार्य गरेर देखाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले नेपाल सम्पूर्ण रुपमा covid-19 विरुद्ध केन्द्रीत रहेको चर्चा गर्दै यो महामारीपछि दुई देशका संसद, सरकार र जनताबीचको सम्बन्धसँग जोडिएका कार्यहरु पुनः क्रियाशील हुने र दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा बाढी पहिरो र covid-19 का कारण परेको अप्ठेरोप्रति चिन्ता व्यक्त गर्नुभएकोमा सभामुख सापकोटाले राजदूत जो योङ म्यान Jo Yong Man लाई धन्यवाद ज्ञापन गर्नुभयो ।
राजदूत जो योङ म्यान Jo Yong Man ले उत्तर कोरियाले अपनाएको उच्च सतर्कताका कारण कुनै पनि नागरिक covid-19 बाट संक्रमित नभएको जानकारी दिंदै covid-19 कै कारण पार्टी स्थापनाको ७५ औं बर्षको कार्यक्रममा भने नेपाल लगायत अन्य मित्रराष्ट्रलाई निमन्त्रणा गर्न नसकिएको बताउनु भयो ।
राजदूत जो योङ म्यान Jo Yong Man ले नेपालमा covid-19 र बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यहाँको संसद र सरकारको प्रयासबाट नेपालले छिट्टै कोभिडमाथि जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विश्वव्यापी महामारीका रुपमा रहेको कोभिडको अन्त्यपछि नेपाल र उत्तर कोरियाबीच संसदीय मैत्री समूहमार्फत् थप छलफल र भ्रमण आदानप्रदान हुने अपेक्षा गरिएको बताउनुभयो ।























