पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री


पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका जनतालाई सहज रूपमा सूचना प्रवाह गर्ने योजनासहित सरकार लागि परेको बताएका हुन् । उनले भने,‘अहिलेको युग सूचना र प्रविधिको युग हो । नागरिकलाई सही सूचना दिने दायित्व सरकारको हो । त्यसैले सत्य तथ्य सूचना प्रवाहमा सरकारले विशेष ध्यान पु¥याएको छ।’, मुख्यमन्त्री पोखरेलले नागरिकले सूचना प्राप्त गर्न पाउने अधिकारलाई संविधानले समेत निर्दिष्ट गरेको बताए ।
मुख्यमन्त्री पोखरेलले कानुनले अधिकार दिए पनि सरोकारवालाहरूले ढिलासुस्ती गर्दा सूचना प्राप्त गर्न नागरिक वञ्चित हुनुपरेको बताए । गण्डकी प्रदेश सरकार कानुन निर्माण गरी त्यसको सही कार्यान्वयन पक्षमा रहेको भनाई मुख्यमन्त्रीको रहेको छ । मुख्यमन्त्री पोखरेलले सूचनाको हकका विषयमा उठेका जिज्ञासालाई सम्बोधन गर्ने गरी नीति निर्माणमा ध्यान पु¥याउने बताए ।
प्रेसको पूर्ण स्वतन्त्रताको ग्यारेन्टी भएको देख्न चाहने लोकतान्त्रिक सरकार भएका कारण कसैले प्रश्न नउठ्ने गरी आमसञ्चार विधेयक पारित गर्ने छौँ’,उनले भने । प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले मन्त्रालयले नागरिकको हितका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नागरिकलाई सही सूचना प्रवाह गर्ने गरी कानुन निर्माण गर्ने हुनुपर्ने पक्षमा प्रदेश सरकार रहेको उनको भनाई छ ।






















