देश

पर्सि सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको प्रस्ताव

जगत ठाडा मगर
२०७७ कार्तिक २५ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू पर्सि २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् । तर ओलीले सहमति जनाएका छैनन् ।

प्रचण्डसहित सचिवालयका पाँच सदस्यले २२ गते प्रधानमन्त्री ओलीलाई लिखितरुपमै बैठक बोलाउने सहमति दिन आग्रह आग्रह गरेका थिए । पाँच नेताको जोड २३ वा २४ मा बैठक बोलाउने थियो ।

२५ गतेसम्म पनि बैठक बोलाउने सुरसार नदेखेपछि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर ओलीसँग छलफल गरेका थिए । छिट्टोभन्दा छिटो बैठक बोलाउनुको विकल्प नभएको प्रचण्डको जोड थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि प्रधानमन्त्री उपत्यका बाहिर जाने कार्यक्रम भएकाले पर्सि २७ गते सचिवालय बैठक बोलाउने सहमति दिन र बैठकमा आउन प्रचण्डले प्रस्ताव गरेका छन् । उनले भने, ‘आजको छलफलमा पनि अध्यक्ष कमरेड केपी शर्मा ओलीले २७ गते बैठक बस्न सहमति जनाइसक्नु भएको छैन ।’

बालुवाटारको भेट लगतै प्रचण्ड धुम्बाराहीस्थित पार्टी कार्यालयमा पुगेर बैठक माग गर्ने चार नेताहरुसँग अनौपचारिक छलफल गरेका थिए । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘हामी अपेक्षा गर्छौ कि उहाँले अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नु भए अनुसार पर्सि बैठक जनाउन सहमति जनाउनु हुनेछ र सहमतिकै आधारमा बैठक बस्ने छ ।’

कमेन्टहरु