राजनीति

गुन्डागर्दीबाट पार्टी कब्जा गर्ने प्रयास भयो : शेखर कोइराला

नवलपुर टुडे
२०७८ अशोज ७ | मध्यान्ह ०३:०६ बजे

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुन्डागर्दीबाट पार्टी कब्जाको प्रयास भएको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यताको विषयलाई लिएर जारी धर्नामा ऐक्यबद्धता जनाँउदै उनले संस्थापन पक्षले पार्टी कब्जा गर्ने उद्देश्यले गुण्डागर्दी गरिरहेको आरोप लगाए । क्रियाशील सदस्यता विवाद र कार्यकर्तामाथि कुटपिट भएको भन्दै सानेपामा नेता अमरेशकुमार सिंहको नेतृत्वमा धर्ना जारी छ ।

‘पार्टी कब्जा गर्ने हिसाबले जिल्ला जिल्लामा नेताहरुले गुन्डागर्दी देखाइरहनु भएको छ । यो स्विकार्य हुँदैन । यस्ता तत्व जिल्ला जिल्लामा परास्त हुन्छन् भन्नेमा म विस्वश्त छु । शान्तिपूर्ण र संयमित आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ,’ उनले भने । त्यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रहरी प्रशासन लगाएर गरिएको अधिवेशन उचित नभएको बताए ।

‘डडेल्धुरामा प्रहरी लगाएर अधिवेशन गरिएको छ। कांग्रेसको इतिहासमा अहिलेसम्म यस्तो भएको थिएन,’ कोइरालाले भने । धर्नामा समर्थन जनाउन नेता प्रकाशमान सिंहलगायतका नेताहरु समेत पुगेका थिए । धर्नामा सहभागी नेता सिंहले कार्यकर्तामाथि कुटपिट गर्नेलाई कारवाही गर्न पार्टी सभापतिसँग माग गरेका थिए ।

प्रदेश २ का महिला बालबालिकामन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई पार्टी कार्यालय सानेपामा कुटपिट गरेको भन्दै नेता देखि कार्यकर्ताहरु कारवाहीको माग गर्दै धर्ना बसिरहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

कमेन्टहरु