देश

बाइडनको जितले नेपाल–अमेरिका सम्बन्धमा कस्तो प्रभाव पार्ला ?

जगत ठाडा मगर
२०७७ कार्तिक २४ | बिहान ०९:०७ बजे

अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । आगामी जनवरी २० मा अमेरिकी संविधान अनुसार बाइडनले राष्ट्रपति पदको सपथ लिने छन् । अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले दुईपक्षीय सम्बन्धमा के प्रभाव पार्ला ? यतिखेर सर्वत्र चासो छ ।

विश्लेषकहरुका अनुसार अमेरिकाको आधारभूत नेपाल नीतिमा कुनै पनि परिवर्तन आउने छैन । तर, नयाँ प्रशासनका केही नयाँ प्राथमिकता र अहिलेकै विषयमा केही नयाँ ‘एप्रोच’ भने देखिन सक्छ ।

विश्लेषकहरुका अनुसार बाइडन आएपछि उनले उदार अन्तर्राष्ट्रिय प्रणाली, आर्थिक उदारवाद, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, मानव अधिकार, नागरिक स्वतन्त्रता लगायतका विषयमा जोड दिने छन् । यसको प्रत्यक्ष र परोक्ष असर नेपालमा पनि पर्न सक्ने विश्लेषकहरु बताउँछन् । नेपाल मात्र होइन, दक्षिण एसिया र अन्य विकासोन्मुख मुलुकमा बाइडनले यी मूल्य र मान्यताको कार्यान्वयनमा विशेष जोड दिनेछन् ।

केही वर्षयता नेपालमा गर्मागर्मी बहस भएको विषय हो–अमेरिकाले अगाडि सारेको हिन्द महासागर रणनीति अर्थात इन्डोप्यासेफिक स्ट्राटेजी । यस मामिलामा विशेषतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभिन्न दृष्टिकोण रहेका छन् ।

अब बाइडनले यो रणनीतिलाई कसरी अगाडि बढाउलान् ? विश्लेषकहरुका अनुसार अमेरिकारको यो नीतिमा खासै परिवर्तन आउने छैन । बरु यसका विषयवस्तु कार्यान्वयनमा थप जोड दिइने छ । ट्रम्प प्रशासनको जस्तै यसलाई चीनलाई काउन्टर गर्न ल्याइएको रणनीति नभनिएला, तर यसमा रहेका विषयवस्तु कार्यान्वयन हुने विश्लेषकहरुको धारणा छ ।

विगत १० वर्षदेखि अमेरिकाले एसिया केन्द्रित नीतिको विकास गर्दै गइरहेको छ । यस अगाडि बाराक ओबामाले पिभोट एसिया नीतिलाई अगाडि बढाएका थिए, ट्रम्पले इन्डोप्यासेफिक रणनीति अगाडि सारे ।

अर्काे विषय अमेरिका लामो समयदेखिको नेपालको विकास साझेदार हो र उसले विभिन्न क्षेत्रमा सहयोग पनि गरिरहेको छ । नयाँ प्रशासनको आगमनसँगै अमेरिकी सहयोगमा कस्तो असर गर्ला ? भन्ने प्रश्न पनि छ ।

जहाँसम्म दुईपक्षीय सहयोगको विषय छ, त्यसमा खासै परिवर्तन नआउने विश्लेषकहरु बताउँछन् । सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि धेरैको विश्लेषण उनले अमेरिका केन्द्रित नीति लिने भएकाले अमेरिकाले नेपाललाई दिने सहयोग प्रभावित हुने आशंका थियो ।

तर, विगतको चार वर्षे कार्यकालमा सहयोगमा कुनै पनि परिवर्तन आएन । बरु यसबीचमा केही क्षेत्रमा अमेरिकी सहयोगमा केही वृद्धि भएको देखियो ।

पहिलादेखि नै प्रक्रिया शुरु भए पनि ट्रम्पको समयमा एमसीसी अन्तर्गत नेपाललाई ५०० मिलियन अमेरिकी डलर सहयोग गर्ने सम्झैतामा सन् २०१८ को सेप्टेम्बर महिनामा सम्झौता भयो ।

कमेन्टहरु