रोहिंग्या भित्र्याउने बंगलादेशी र बर्मेली नागरिक पक्राउ


काठमाडौं । बंगलादेशको शरणार्थी क्याम्पमा रहेका म्यानमारका शरणार्थीलाई नेपाल ल्याउने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले ती शरणार्थीहरुलाई नेपालबाट अमेरिका जान मिल्ने र तत्काल पठाइने, मासिक भत्ता राम्रो पाइनेलगायतका प्रलोभन देखाएर काठमाडौं भित्र्याउने बंगलादेशी र बर्मेलीलाई पक्राउ गरिएको हो ।
उक्त कार्यमा संलग्न रहेको आरोपमा २ म्यानमार(बर्मेली) र १ बंगलादेशी नागरिकलाई सोमबार काठमाडौबाट प्रहरीले पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा म्यानमारका नागरिक नोरुल अमिन, शोफिक आलम र बंगलादेशी नागरिक अजमत उल्ला रहेका छन्।
उनीहरुलाई प्रहरीको अनुसन्धान पछि रोहिंग्या भित्र्याउने कार्यमा एजेन्टको भूमिका खेलेको पाइएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए। केही दिनअघि १४ रोहिंग्यालाई बौद्धबाट पक्राउ गरेर अध्यागमनलाई बुझाएको थियो।






















