संविधान दिवसका अवसरमा राष्ट्रपतिले गर्यो ८ जना कैदीलाई माफी, ५२३ जनाको कैद कट्टा

जगत ठाडा मगर
२०७८ अशोज २ | मध्यान्ह ०६:०६ बजे

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जना कैदीलाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी गरिएको छ । त्यस्तै हर्कबहादुर राई लगायत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो ।
असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो ।२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ ।
यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।






















