देश

भरतपुर महानगरद्वारा ५० लाख बराबरको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण

जगत ठाडा मगर
२०७८ अशोज १ | मध्यान्ह ०८:०६ बजे

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई झन्डै ५० लाख बराबरको कोभिड १९ सम्बन्धित स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालबाट अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी, मेसु डा कृष्णप्रसाद पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण भएको हो ।स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले कोभिड १९ को उपचारमा भरतपुर अस्पतालले खेलेको भूमिकाबारे चर्चा गरिन् ।

कार्यक्रममा प्रमुख दाहालले काठमाडौँलगायत विभिन्न जिल्लाबाट हेलिकोप्टरमा कोभिडका बिरामीलाई भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको र उपचारबाट धेरै बिरामीहरु सन्चो भएको बताइन् । कार्यक्रममा उनले भनिन्, ‘त्यो गरिमालाई भरतपुर अस्पतालले जोगाइराख्नुपर्छ ।’

कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरले दिएको स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्दै सेवालाई अझ बढी प्रभावकारी बनाउन अस्पतालको टिमलाई निर्देशन दिएकी थिइन् । मित्रराष्ट्र चीनको सिगात्से सिटी र बेइजिङ एग्रो बायोटिकले महानगरलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सांसद गीता वाग्लेले भरतपुर अस्पतालको सेवा प्रभावकारी भइरहेको र यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताइन् । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर महानगरबाट अस्पतालको विकासका निम्ति निरन्तर सहयोग भइरहेको बताए । कार्यक्रममा मेसु डा कृष्णप्रसाद पौडेलले सबैको सल्लाह र सुझावअनुसार नै अस्पताललाई अगाडि बढाउने बताए ।

अस्पताल विकास समितिका सदस्य मुकुन्द दाहालले अस्पतालको विकासमा भरतपुर महानगरपालिकाको सहयोगले नै अस्पताल यहाँसम्म आइपुगेको बताए । कार्यक्रममा २०७८ सालको भरतपुर अस्पतालको पहिलो अंक बुलेटिनको विमोचनसमेत गरिएको थियो ।

कमेन्टहरु