भरतपुरको वागेश्वरी आइसोलेसनबाट २५० जना कोरोना संक्रमित निको भएर घर फर्किए


भरतपुर महानगरपालिका कोभिड–१९ आइसोलेसन केन्द्र वागेश्वरीबाट बुधबार थप आठ जना निको भई घर फर्किएका छन् ।
निको भएर घर फकिर्नेहरुलाई भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले गुर्जोको बिरुवा र निरोगिताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
यो केन्द्रमा हालसम्म ३१० जना भर्ना भएर उपचार लिएका छन् भने अहिलेसम्म २५० जना निको भएर घर फर्किएका छन् । बुधबारको बिदाई १७ औं भएको चिकित्सालयका पदाधिकारी बताउँछन् ।
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर महानगरपालिका–१ वागेश्वरीमा २०७७ भदौंबाट महानगरको सहयोगमा आइसोलेसन केन्द्र सञ्चालन गरेको हो । यहाँबाट हालसम्म कुनै पनि बिरामी रिफर गरेर बाहिर पठाउन नपरेको चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताउनु भयो ।
यहाँ संक्रमितहरुलाई आवधिक उपवास अर्थात् ८ घण्टा खाना खाने र १६ घन्टा भोकै राखेर उपचार गरिँदै आएको निर्देशक कोइराला बताउनु हुन्छ । चिकित्सालयमा भाइरस प्रतिकारी जडिबुटी र उच्च फाइबरयुक्त भोजन गराइने गरेको छ । योग, ध्यान, सत्संग पनि नियमित हुने गरेको कोइराला बताउनु हुन्छ । यहाँको वातावरणले बिरामीको मनोबल उच्च भई बिरामीहरु शत प्रतिशत निको भएको डा. कोइरालाको भनाइ छ ।























