देश

यो सरकार हो कि बुख्याँचा हो ? : केपी ओली

जगत ठाडा मगर
२०७८ भदौ ३० | मध्यान्ह ०६:०५ बजे

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याँचाको नाम दिएका छन् ।

बुधबार नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यो सरकार हो कि बुख्याँचा हो भनी प्रश्न गरेका हुन् ।ओलीले भने ‘बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन।’ उनले यो सरकारले विकासका काम देख्नै नसक्ने आरोप लगाए ।

आफू नेतृत्वको तत्कालीन सरकारले गरेको कामबाट वर्तमान सरकार आत्तिएको ओलीको भनाइ छ ।
‘यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेजी गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छ,’ ओलीले भने, ‘हामीले शिलान्यास गरेका सडक, स्वास्थ्यजस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको छ ।’ आफ्नो सरकार विकासका लागि सयौं सडक, अस्पतालजस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियावादीहरुले सरकार ढालेको ओलीले आरोप लगाए ।

‘हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो,’ ओलीले भने, ‘हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियो तर अहिले हेर्नुस् त दुई महिना भयो मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।’

गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उनले देउवा सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गरेका छन् ।

कमेन्टहरु