जाजरकोटमा फोर्स गाडी दुर्घटना, दुई जनाको मृत्यु पाँच जना घाइते

जगत ठाडा मगर
२०७८ भदौ २९ | मध्यान्ह ०५:०५ बजे

जाजरकोट । जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
नलगाड नगरपालिकाको खारा भन्ने ठाउँबाट कालीमाटी जाँदै गरेको भे १ ज ९८७ नम्बरको फोर्स दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएकामध्ये बारेकोट गाउँपालिका-२ की अन्दाजी ४२ वर्षीय शान्ति रोकायाको पहिचान खुलेको छ भने अर्का एक जनाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए।
उनको घर जुम्ला भएको आशंका गरिएको डिएसपी थापाले जानकारी दिए । घाइतेहरूको अहिले दल्लीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गाडीमा कति जना सवार थिए भन्ने पनि स्पष्ट खुल्न सकेको छैन । गाडी सडकमै पल्टिएको हो ।दुर्घटनापछि चालक फरार रहेको डिएसपी थापाले बताए।






















