ओलीको आरोप : प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपाल कमरेड होइनन्


बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापा पुगेर पूर्व सहकर्मिहरुको चर्को आलोचना गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड´ धोकेबाज नेताको संज्ञा दिएका ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे । मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको पनि बताए ।
गायक जीवन शर्माको पिलो निचारिँदैमा वजन घटेको हुन्न´भन्ने गीत स्मरण गर्दै उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’ नेता नेपालमाथि खनिएका ओलीले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली भएको आरोप लगाए ।
नेपालले १५ वर्षसम्म एमालेबाट फाइदा मात्र लिएको भन्दै उनले भने, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’ तर नेपालले गठन गरेको पार्टीले आगामी चुनावमा वडा सदस्य पनि जित्न नसक्ने एमाले अध्यक्ष ओलीको दाबी छ ।
ओलीले पूर्व सहयोद्दा प्रचण्डको पनि चर्को आलोचना गरेका थिए । तान्त्रिक जस्तो मायावी प्रचण्डले नेता कार्यकर्तालाई अलमल्याउने मात्र काम गरेको ओलीको आरोप छ । ‘प्रचण्ड असल बाबु हो, असल काका हो, असल ससुरा हो, असल सम्धी हो । तर धोकेबाज नेता हो,’ उनले अघि भने, ‘ प्रचण्डले नेता कार्यकर्ताको रगत, पसिनामाथि आफ्नो राजनीतिक दुनो सोझो पारेका छन् ।’
माधव नेपालसँग न जादु टुना, न मन्त्र दुबै नभएको बताए । नेपालले अरुले अह्राए अनुसार पार्टी फुटाएको र नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउन भूमिका खेलेका ओलीको आरोप छ ।






















