पहिरो पन्छाएपछि कालीगण्डकी करिडोर खुल्यो


गुल्मी। वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाएपछि बुधबार बेलुकादेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रमा सडकका विभिन्न स्थानमा लेदो र ठूला ढुङ्गासहित पहिरो खसेको थियो । पहिरो हटाएपछि पालिकाभित्र अवरुद्ध भएका सबै शाखा सडक पनि सञ्चालनमा आएको उनले बताए।
सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट तम्घास, बागलुङ, पाल्पा, बुटवल तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु समस्यामा परेका थिए । सडक सञ्चालनमा आएपछि रोकिएका सार्वजनिक तथा अन्य सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।






















