नदीमा हाम फाल्दा एक युवक बेपत्ता


राैतहट । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा हाम फाल्दा एक युवक बेपत्ता भएका छन्। उपचारका लागि दाजुसँग मोटरसाइकलमा गरुडातर्फ जाँदै गरेका २७ वर्षीय सचिन्द्र यादव नदीमा हाम फालेर बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोल निवासी मोतीलाल यादवका छोरा सचिन्द्र यादव आफ्ना दाजु ३५ वर्षीय सिकिन्द्र यादवसँग मोटरसाइकलमा सवार थिए। लालबकैया नदीको पुलमा पुगेपछि सचिन्द्र मोटरसाइकलबाट ओर्लिएर अचानक नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीले जानकारी दिए।
सिकिन्द्रले घटनाबारे तत्काल प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले नदीमा खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार सचिन्द्रको मानसिक अवस्था ठीक नरहेको बुझिएको छ। उनको उपचार गराउन दाजु सिकिन्द्रले मोटरसाइकलमा राखेर गरुडा लैजाँदै गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
लालबकैया नदीमा पानीको बहाव बढेको र बाढीसमेत आएका कारण खोज तथा उद्धारमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय
रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले बताए। बेपत्ता युवकको खोजी कार्य भने निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।






















