देश

कोरोना फैलिएपछि एक साताका लागि बाग्लुङ बजार बन्द

जगत ठाडा मगर
२०७७ कार्तिक १७ | मध्यान्ह ०५:०७ बजे

बाग्लुङ बजार क्षेत्र एक हप्ताका लागि बन्द भएको छ । समुदाय स्तरमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय बाग्लुङले सोमबार राति १२ बजेदेखि कात्तिक २४ को राति १२ बजेसम्म लागू हुने गरी बजार क्षेत्र बन्द गरेको हो ।

सोमबार सम्पन्न सर्वपक्षीय बैठकको सहमतिअनुसार प्रशासनले बाग्लुङ नगरपालिकाका चारवटा वडामा बन्द गर्ने निर्णय गरेको हो ।

आइतबार बाग्लुङ नगरपालिकाले ती वडामा बन्द गर्न सिफारिस गरेको गरेको थियो । जसअनुसार नगरपालिकाका १, २, ३ र ४ वाडा बन्द गरिएको हो ।

बैठकले अत्यावश्यकबाहेकका सार्वजनिक यातायात तथा बजार क्षेत्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा, कृषि तथा पशु उत्पादन, मल, बिउ, स्वास्थ्य सेवा र विपत् व्यवस्थापन, सरकारी सवारीसाधन तथा पुष्पलाल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरमा चल्ने यातायात सेवा चलनेछन् । तर, बन्द रहेका वडामा चढ्न र झर्न भने पाइने छैन ।

दैनिक उपभाेग्य सामग्री खरिदका लागि बिहान ७ देखि ९ बजेसम्म पसल सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय भएको छ ।

कमेन्टहरु