चार संसदीय समितिको बैठक बस्दै


काठमाडौं । मंगलबार संघीय संसदका चार संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार, अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने तय भएको हो ।
बिहान १०:०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ ।
बैठकमा अर्थमन्त्री र अर्थ सचिवका साथै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको सचिवालयले जानकारी दिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०:०० बजे बस्नेछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:१५ बजे बस्दै छ । सो समितिको बैठकमा नेपालमा स्वदेशी र वैदेशिक एवं निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानुनमा गर्नुपर्ने सुधारलगायतका विषयमा छलफल गरिँदै छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११:३० बजे बस्दै छ । बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिँदै छ ।






















