प्रतिनिधिसभाको बैठक आज बस्दै


काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको पूर्ण बैठक बस्नुअघि आज विभिन्न चार वटा संसदीय समितिका बैठकहरू समेत बस्दै छन् । संसद् सचिवालयका अनुसार बिहान १०ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरिनेछ । सो क्रममा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग दफावार छलफल गर्ने तयारी छ ।
सोही समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । यसैगरी, बिहान ११ः१५ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक डाकिएको छ । उक्त बैठकमा नेपालमा स्वदेशी, वैदेशिक, निजी तथा सार्वजनिक लगानीको वर्तमान अवस्था, जलवायु परिवर्तनले लगानीमा पारेको प्रभाव, लगानी सम्मेलनको व्यवस्थापन एवं लगानीमैत्री वातावरणका लागि आवश्यक नीतिगत र कानुनी सुधारबारे विस्तृत छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारले अघि बढाएको ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग राय–परामर्श गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।






















