पार्टी बैठक नबसेपछि सामाजिक सञ्जालमा मुखर बन्दै नेकपा शीर्ष नेताहरु


काठमाडौं- आइतबार दिउँसो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु प्रसाद पौडेलले फेसबुकमा लेखे- (पार्टी एकतादेखि) आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।
केही दिनयता नेकपाको आन्तरिक विवादलाई केन्द्रमा राखेर समाचार सार्वजनिक भइरहेकै थियो। पार्टीका विषयमा सामाजिक सञ्जालमा खासै नलेख्ने पौडेलले नै एकता गम्भीर मोडमा पुगेको सार्वजनिक गरिदिएपछि पार्टीभित्रको विवाद गहिरो रहेको धेरैलाई अनुभूत भयो।
पार्टीका दोस्रा र तेस्रा तहका नेताहरु सामाजिक सञ्जालमा मुखर भइरहनु स्वभाविकै हो। उनीहरु नियमित रुपमा आफ्नो कुरा राख्ने मात्रै नभई फरक गुटका नेतामाथि कटाक्ष पनि गरिरहन्छन्। तर, आइतबार र सोमबार भने पार्टीका शीर्ष नेताहरु आफैंले अभिव्यक्ति दिइरहेका छन्।
नेताहरुको अभिव्यक्तिलाई आधार मान्ने हो भने पार्टी अब फुटको औपचारिक पर्खाइमा छ। नेताहरुले फुटको संकेत मात्रै गर्न थालेका छैनन्, फुटपछि कसलाई कसरी दोष दिने भनेर पनि तयारी सुरु गरेजस्तो देखिन्छ।
‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं!!’, सोमबार नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले ट्विट गरे।
पोखरेलले सांकेतिक रुपमा पुष्पकमल दाहाल प्रचण्डमाथि पूर्व पार्टीको समूहभित्र खेलेको आरोप लगाएका छन्। प्रचण्डमाथि पूर्वएमालेका माधव नेपाल र झलनाथ खनाललाई साथमा लिएर ओलीमाथि दबाब बढाएको आरोप लाग्दै आएको छ।
गत असार १० देखि भदौ २६ गतेसम्म लम्बिएको स्थायी कमिटी बैठकले पार्टीमा रहेको असमझदारी अन्त्य गरेको दाबी गरिएको थियो। अझ, पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ २६ लाई ‘कट अफ डेट’को रुपमा लिएर अन्तरपार्टी निर्देशन नै जारी गरेका थिए। तर, स्थायी कमिटीको निर्णय र अध्यक्षद्वयको क्षेत्राधिकार विपरीत दुई अध्यक्षबीच विवाद सिर्जना हुन थालेका थिए।
सामाजिक सञ्जालमा मुखर भएका कतिपय नेताहरुले विधि र प्रक्रियामा अघि नबढ्दा समस्या आएको बताएका छन्। ‘विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हुन्’, स्थायी कमिटी सदस्य भीम रावलले लेखेका छन्, ‘स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्।’






















