रुपन्देहीको क्रिष्टल डिस्टिलरीमा राजस्वको छापा


बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियामा रहेको क्रिष्टल डिष्टिलरीमा राजस्व अनुसन्धान कार्यालय बुटवलले छापा मारेको छ ।
नक्कली अन्तशुल्क स्टिकर प्रयोगकर्ता क्रिष्टल डिष्टिलरी हुनसक्ने आशंकामा सो उद्योग शिल गरिएको स्रोतले जनाएको छ तर राजश्व अनुसन्धान कार्यालयले यसबारे सञ्चार माध्यमलाई प्रतिक्रिया दिन आनाकानी गरेको छ ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले नक्कली स्टिकर बरामद घटनाको सम्बन्धमा गहिराइमा अनुसन्धान जारी रहेको र केही दिनमा नक्कली अन्तशुल्क स्टिकर कुन उद्योगमा प्रयोग भइरहेको छ भन्नेबारे पत्ता लाग्ने बताए ।
भदौ ५ गते बरामद गरिएको थियो नक्कली अन्तशुल्क स्टिकर
भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया–डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो । लु.२ च. २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अलीलाई प्रहरीले पक्राउ गरेका थियो ।
दुवै जनालाई अहिले पनि प्रहरी नियन्त्रणमा राखी अनुसन्धान जारी राखिएको छ । उक्त स्टिकरबारे अनुसन्धान गर्दै जाँदा आन्तरिक राजस्व कार्यालय भैरहवाले नवलपरासीको दीक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टार सोफी’ ब्राण्डका ५० कार्टुन मदिरा बरामद गर्यो ।
बरामद मदिराको नमूनासहित अनुसन्धानका लागि विभागमा पठाइएको छ । सो स्टिकरको अनुसन्धानको क्रममा क्रिष्टल डिस्टिलरीमा छापा मारेर शिल गरिएको हो ।
राजस्व र भन्सार कर्मचारीको संलग्नताको आशंका
मदिरा उद्योगमा आन्तरिक राजस्व कार्यालयका एकजना कर्मचारी नै खटाउने व्यवस्था छ । उनकै निर्देशनमा अन्तशुल्कका स्टिकर टाँस्ने र निकासीका लागि राजस्व तिरेर आएपछि सोही कर्मचारीको रोहवरमा उत्पादित मदिरा बजारमा पठाउने कानुनी व्यवस्था छ ।
आन्तरिक राजस्व कार्यालयका कर्मचारीको मिलोमतोविना उद्योगले नक्कली स्टिकर र नक्कली मदिरा बनाउन सम्भव नहुने जानकारहरु बताउँछन् । त्यसैले यो घटनामा आन्तरिक राजस्व कार्यालयका कर्मचारी र भन्सारका कर्मचारीको संलग्नताको आशंका गरिएको छ ।
‘भारतमा छापेर नेपालमा अन्तशुल्कको स्टिकर ल्याउने धन्दामा भन्सार कार्यालयका कर्मचारीको पनि मिलेमतो हुनसक्ने भएकाले भन्सारमा कार्यरत कर्मचारीमाथि पनि छानविन गर्न जरुरी छ,’ एकजना सरकारी अधिकारीले भने ।






















