देश

भदौमा पाँच अर्बको विद्युत् निर्यात

रासस
२०८३ अशोज ३ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । भदौमा  पाँच अर्ब बढीको विद्युत् निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पाँच अर्ब नौ करोड २४ लाख बराबरको विद्युत् निर्यात भएको हो ।उक्त अवधिमा भारत र बंगलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।

द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो । द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत्  तीन अर्ब ६४ करोडभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट  एक अर्ब ४४ करोड ९९ लाख आम्दानी भएको छ ।

भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फ विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ ।

कमेन्टहरु